काठमाडौँ, २० जेठ । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताए । बजेटमा आएका कतिपय कार्यक्रम महत्वकांक्षी भएको भन्दै उनीहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गरे ।
सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट समाजवाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताएका छन्। सांसद गगनकुमार थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै गरे, “थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव खड्किएको छ । कार्यान्वयनमा समस्या आउँछ ।”
पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उहाँले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिनुभयो । सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभावसमेत बजेटमा रहेको आरोप लगाए ।