बजेटमाथि विपक्षी सांसदको प्रतिवाद

रिपोर्ट नेपाल | 2022 Jun 01 | 08:38 am 973

काठमाडाैं, जेठ १८ः संसदमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल सुरु भएको छ। प्रमुख प्रतिपक्षी एमालेले बजेटमा राखिएका विषयहरू भोट बटुल्ने उद्देश्यले राखिएको बताएको छ।

प्रतिनिधिसभामा बोल्दै एमालेका नेता विष्णु पौडेलले बजेटमा साधारण खर्च बढाइएको पुँजीगत खर्च घटाइएको र बजेटको मुख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको आरोप लगाए। उनले सरकारले विद्युतीय सवारीसाधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको र वितरणमुखी बजेट भए पनि सामाजिक सुरक्षा भत्ता नढाएको बताए। विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्ने सरकारले गलत निर्णय गरेको उनले बताए। बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको पनि उनले बताए।

उनले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे। आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको सरकारले आफूलाई बिर्सेको उनले बताए। ‘वार्षिक आठ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने लक्ष्य राखेको भए पनि महँगीको मारमा परेका जनताको कसरी आर्थिकस्तर माथि उठ्ला?,’ उनले भने। निर्यातको पनि यथार्थ मार्गचित्र नआएको तथा आयत घटाउनेबारे पनि स्पष्ट नभएको उनको भनाइ थियो। आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो त्यसबारे स्पष्ट आउनुपर्ने उनले बताए।

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले एमाले नेता पौडेललाई संकेत गर्दै एमालेले पनि हावादारी बजेट नै ल्याएको बताए। उनले पोहोर उहाँले बजेटको विवरण संसद्बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर बोलेको भए कति राम्रो हुने थियो भन्दै पौडेलका भनाइ खण्डन गरे। ‘त्यतिबेला मुलुक कोभिडले थलिएको थियो, खोप लगाउन सुरु पनि भएको थिएन। अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुनेछ भन्नुभयो। आज ८ प्रतिशतको आर्थिक वृद्धिभन्दा अचम्मै मान्नुभयो,’ उनले भने, ‘हिजो ६.५ प्रतिशतले मुद्रास्फीति हुन्छ भन्नुभयो, आज ७ भन्दा उहाँलाई त्यतिले पनि पुग्दैन जस्तो लाग्छ।’

कोभिडपछि सामान्य लयमा फर्कदै गरेको अर्थतन्त्रमा आयात बढ्नु स्वभाविक भएको उनको भनाइ थियो। को सत्तामा छ वा छैन भन्ने आधारमा अर्थतन्त्रका समस्या परिवर्तन नहुने भन्दै उनले यसमा गम्भीर छलफलको आवश्यकता रहेको बताए।

उनले ओली सरकारले संसद् विघटन गरी निर्वाचनको घोषणा गरेर बजेट ल्याउँदा निर्वाचनलाई प्रभावित गर्ने गरी जे–जे भाषा प्रयोग गरिएको थियो यो बजेटमा त्यो भन्दा निकै कम भाषा प्रयोग भएको बताए। कांग्रेसका सांसद विनोद चौधरीले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगाल्नु सुधारको महत्वपूर्ण चरण भएको बताए।

एमालेका नेता योगेश भट्टराईले शिक्षामा कुनै उल्लेख्य बजेट नआएको भन्दै स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको बताए। एमाले सांसद पार्वती कुमारी विशुंकेले नीति तथा कार्यक्रममा बोलेको कुरा बजेटमा नआएको बताइन्। ‘सुत्केरी महिलालाई उद्धार मात्र गरेर नभई हामीले ती विकट क्षेत्रमा जोखिम क्षेत्रहरूमा सुविधा सम्पन्न विज्ञसहितको वर्थिङ सेन्टरहरूको व्यवस्था गर्न सक्यौं भने मात्र हामीले सुरक्षित सुत्केरी गराउने कुरा र गाउँमा सेवा दिने कुरा सहज हुन सक्छ,’ उनले भनिन्।

कांग्रेस सांसद डिला संग्रौलाले ‘देशभित्रको पुँजीलाई कसरी परिचालन गर्ने र वैदेशिक लगानीलाई कसरी आकर्षित गर्न सकिन्छ, भन्ने कुरा महत्वपूर्ण हुने भन्दै गुणात्मक प्रकृतिका योजनाहरू बजेटमा समावेश नभएको बताइन्। सामाजिक सुरक्षा कार्यक्रमहरूलाई कसरी दिगो र भरपर्दो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्। सांसद संग्रौलाले बजेटमा दुई लाख युवालाई रोजगारी दिने भनिए पनि कसरी गर्ने भन्ने स्पष्ट दृष्टिकोण आउन आवश्यक रहेको बताइन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.