काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीको सरकारले चुनावी घोषणा पत्र र अपेक्षा विपरीत बजेट सार्वजनीक गरेको छ । सरकारका अर्थ मन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको १३ खर्ब १५ आर्बको बजेटका विषयमा रिपोर्ट नेपालका लागि पूर्व अर्थ मन्त्री लगायत अन्य सम्बन्धीत पक्षसंग लिइएका प्रतिकृया प्रस्तुत गरेका छौं ।
कर्मचारीको तलब बढाउनु पर्ने थियो, भरतमोहन अधिकारी (पूर्व अर्थमन्त्री)
बजेटले प्राय सबैलाई समेट्न खोजे पनि चुनावमा जनतासंग प्रतिबद्धता गरेको पाँच हजार बृद्धाभत्ता बजेटमा अट्न नसकेकोमा अलि खल्लोपन महसुस भएको छ ।
हरेक दुई बर्षमा कर्मचारीको तलब बढाउनु पर्नेमा यस पटक पनि बढाइएन । थोरै भए पनि तलब बढाएको भए कर्मचारीको आत्मबल बढ्ने थियो । महंगीले छटपटाईरहेको बेला यो आवश्यक थियो ।
यदि तलब बढाउन बजेटको कमी थियो भने कारण खोलेर भनिदिएको भए कर्मचारीले चित्त बुझाउने बाटो रहन्थ्यो ।
दिशाहिन बजेट, ज्ञानेन्द्र बहादुर कार्की (पूर्व अर्थमन्त्री)
यो बजेट जनमूखी नभएर नारा मूखी भएर आएको छ । समग्रमा भन्नुपर्दा केहि कुरा सकारात्मक आएपनि कार्यान्वयनका लागि ठोस आधार छैनन् । यी बजेट यथार्थमा भन्नुपर्दा दिशाहिन छ । नजताले कम्युनिष्टको सरकारबाट जे आपेक्षा गरेका थिए त्यसको ठ्याक्कै उल्टो छ ।
बजेट राम्रो छ, शंकर कोइराला (पूर्व अर्थमन्त्री)
प्रोफसनल अर्थ मन्त्रीले ल्याएको यो बजेटलाई सरसर्ती हेर्दाखेरी राम्रै देखिन्छ । तिनवटा उद्देश्य राखिएको यो बजेटमा गरीबी, पछौटेपन, विपन्न हटाउने कुरा जसरी ल्याएको छ त्यो राम्रै छ ।
हाम्रो द्रुत आर्थिक विकास भनिएको छ अन्तत तपाई हामीले खोजेको पनि त्यही नै हो । सुदृढ, सम्मुनत अर्थतन्त्रको विकास गर्ने भन्ने कुरा संविधानबाटै गाइडेट छ । घोषणा पत्र र निति कार्यक्रम अनुसार नै बजेट आएको छ ।
६ वटा प्रथमिकता जुन राखिएको छ त्यो पनि राम्रै छ । रोजगारी, मानव विकास, जलश्रोत पर्यटक, भौतिक पूर्नसंरचना लगाएतका कुरालाई जसरी प्राथमिकता दिइएको छ त्यो ठिकै लागेको छ ।
आर्थिक बृद्धी आठ प्रतिशत गर्ने भनिएको छ शुरुको बर्षमा राम्रै हो । आठ प्रतिशत आर्थिक बृद्धी त्यती धेरै महत्वकांक्षी होइन । पाँच लाख रोजगारीको जुन कुरा बनाइएको छ त्यो कति सम्भव हुन्छ भविष्यले देखाउँला । विगतका बर्षहरुमा जसरी एक पछि अर्को अर्थमन्त्रीले होडवाजी गरेर बजेट बढाएर प्रस्तुत गरिन्थ्यो यस पटकका अर्थमन्त्रीले त्यो परम्परालाई तोडीदिएका छन् ।
कार्यन्वयनको पक्षमा भन्नुहुन्छ भने केन्द्रीय सरकार जुन पार्टीको छ त्यही पार्टीको प्रदेश सरकार र स्थानीय सरकार पनि भएकोले खासै समस्या नपर्ला ।
सरकार डराएको देखिन्छ, विमल कोइराला (पूर्व मुख्यसचिव)
पाँच बर्षका लागि प्रर्याप्त म्यान्डेड पाएको यो सरकारले कठोर आर्थिक नीति ल्याएर अघि बढ्नुपर्ने थियो भोटसंग डराएर परम्परागत शैलीकै बजेट ल्याएको छ ।
अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटलाई सरसर्ति हेर्दा सरकार बढी लोकप्रियतावादी बन्न खोजेको देखिन्छ । कार्यक्रमहरु कनिका छरेझै गरी छरेर ल्याएको छ ।
बहुमत प्राप्त भएको सरकारले मुलुकलाई आर्थिक रुपले सम्पन्न गराउनको लागि कठोर अर्थनीति ल्याउनु पर्नेमा जनताले भोट दिदैनकी भन्ने डर त्रास सहितको बजेट आएको मेरो ठम्याई छ ।
शिक्षा र स्वास्थ्यलाई सम्बोधन गरेको छ, भवानी राणा (अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ)
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट स्वास्थ्य र शिक्षालाई राम्रोसंग सम्बोधन गरेको मैले महसुस गरेकी छु।
कृषीलाई पनि महत्व दिएको देखिन्छ । कृषकको ऋण मिनाहा गर्ने कुराले कृषकलाई उत्साहित र प्रोत्साहन गरेको बजेटमा देखिएको छ । आन्तरीक र अन्तर्राष्ट्रिय विमानस्थल देखि पर्यटक विकासका लागि बजेटले सम्बोधन गरेको देखिन्छ ।