काठमाडाैं, साउन २०ः बजारमा बिक्री–वितरण हुने आठ प्रतिशत दैनिक उपभोग्य वस्तु खान अयोग्य भेटिएका छन् । बजारमा बिक्री भएका खाद्यवस्तुको नमूना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा यस्तो भेटिएको हो। विभागले मुलुकभर २८ सय ३४ नमूना संकलन गरेर गरिएको परीक्षणमा ७.७ प्रतिशत खाद्यवस्तुका नमूना प्रतिकूल पाइएको छ। खाद्यान्न, तेल, दूध तथा दुग्धजन्य, चिया, मसला, पिउने पानी, बिस्कुट, भुजिया, दालमोट, दाल, काजु, किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो लगायत खाद्यवस्तु न्यून गुणस्तरको भेटिएको विभागले जनाएको छ।
२८ सय ३४ नमूनामध्ये दुई सय १९ नमूना प्रतिकूल रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । खाद्य ऐन तथा नियम प्रतिकूल रहेका न्यूनस्तर तथा दूषित वस्तु उत्पादन तथा बिक्री वितरण गर्नेविरुद्ध कारबाही अघि बढाएको विभागले जनाएको छ। ‘दूषित तथा न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेलाई खाद्य ऐन बमोजिम मुद्दा दायर गर्छौं,’ महर्जनले भने, ‘अखाद्य वस्तु उत्पादन गर्ने ९७ उद्योगको उत्पादन रोक्का गरिएको छ।’
विभागले खाद्यान्न तथा दलहजनन्य वस्तुका ७ सय ४७, तेल तथा घिउका तीन सय ८२, फल तथा सागपातजन्य पदार्थका दुई सय ९९, मसलाका दुई सय ६६, चिया तथा कफीका एक सय २४, दूध तथा दुग्ध पदार्थका दुई सय ६, प्रशोधित पिउने पानीका एक सय ६५, कन्फेक्सनरीका ९० वटा नमूना संकलन गरेर परीक्षण गरेको थियो। अखाद्य तथा न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन गर्नेविरुद्ध दायर गरिएका मुद्दामध्ये १६ प्रतिशत पिउने पानी, बेकरी तथा बिस्कुटका १३ प्रतिशत, तेल तथा घिउका ११ प्रतिशत, चाउचाउ तथा मसलाका सात प्रतिशत, दालमोट भुजियाका पाँच प्रतिशत, दलहनका चार प्रतिशत छन्।
दायर गरेका मुद्दामध्ये ४० प्रतिशत मुद्दा न्यून गुणस्तरका, २६ प्रतिशत दुषित खाद्यवस्तु उत्पादन तथा बिक्री गरेका, २६ प्रतिशत लेबल लगायत विवरण नमिलेका, करिब आठ प्रतिशत मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघनसम्बन्धी रहेको विभागले जनाएको छ।
विभाग र माताहतका कार्यालयबाट खाद्य ऐन, २०२३, खाद्य नियमावली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन गरेको नपाइएकाले प्रशोधित पिउने पानी, दूध तथा दुग्ध पदार्थ, खाद्यान्न, दलहन, पलफूलजन्य खाद्य पदार्थ उत्पादकलाई सचेत गराउने काम पनि गरेको छ।
उपभोक्ता हितलाई ध्यानमा राखेर विभागले काठमाडौंमा मात्र नभई आफ्ना क्षेत्रीय कार्यालय मार्फत पनि अुनगमन गर्ने गरेको छ। स्वदेशमा उत्पादन भएका मात्र नभएर विदेशबाट आयात हुने उपभोग्य वस्तु पनि अखाद्य भेटिएको विभागले जनाएको छ । नागरिक दैनिकबाट