बजारमा खाने तेलको भाउ पुनः बढ्याे

रिपोर्ट नेपाल | 2021 Apr 19 | 07:24 am 241

काठमाडौँ, वैशाख ६ः बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ । सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ ।

यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ ।

नेपालका तेल उद्योगीले प्रशोधित तेल नेपालीको माग नै पूरा नगरी भारतमा निर्यात गर्दासमेत सरकारका नियमनकारी निकाय किन मौन र रमिते मात्रै बनेको अध्यक्षको आरोप छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.