बंगलादेशीलाई बन्धक बनाई फिरौती असुल्ने गिरोह पक्राउ

| 2023 Aug 13 | 06:03 pm 2681

काठमाडौँ, साउन २८ । नेपाल यतिखेर अवैध कार्य गर्नेको खेल मैदान बनेको छ भन्ने ज्वलन्त उदाहरण पछिल्ला घटनाक्रमले देखाइरहेका बेला बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका  ७ व्यक्तिलाई काठमाडाै‌ं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ ।

बंगलादेशी नागरिकलाई उपत्यकाका विभिन्न स्थानमा बन्धक बनाई राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

कार्यालयबाट अप्रेसनमा खटिएका टोलीले  आरोपितहरुलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धार समेत गरेको छ । गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरुमा रहेका होटल तथा नक्सालमा रहेको स्पा लगायतका ठाँउमा बन्धक बनाई  परिवारसँग पैसा माग्ने गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीयसलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेका अभियुक्तलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको  प्रहरी वरिष्ठ उपरिक्षक डा. मनोज केसीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.