फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति

रिपोर्ट नेपाल | 2020 Jun 13 | 06:38 am 2138

नेपालगञ्ज, जेठ ३१ः बाँके र बर्दियामा यस वर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति भयो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यसबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भए। बाँकेमा मात्र ९० प्रतिशत क्षति भएको छ।

जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भयो। जसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ।

डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भयो। बर्दियाको ८ सय ७३ हेक्टरमा धानमा क्षति भएको छ। मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ।

गत वर्षको उत्पादनसँग तुलना गर्दा यस वर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नुपर्‍यो। यस आर्थिक वर्षमा धान मात्र होइन, बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ।

बमौसमी वर्षाका कारण यो वर्ष दुवै जिल्लामा गहुँको उत्पादन बढेको देखिन्छ। क्षेत्रफल वृद्धि भएकाले उत्पादन बढेको देखिए पनि उत्पादकत्व भने ३ देखि ७ प्रतिशतसम्म घटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन्। अन्नपूर्ण पाेष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.