काठमाडौं, फागुन १२: कास्की जिल्लाको पोखरा महानगरपालिका १८ खपौदी स्थित फेवातालमा खसेका एक जना व्यक्तिको एपीएफ टोलीले सोमबार सकुशल उद्वार गरेको छ ।
उक्त तालमा काठको डुङ्गामा सवार गरिरहेका पोखरा महानगरपालिका १८ खपौदीका ५० वर्षीय बुद्धी जलारी अचानक फेवातालमा खसेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेक्स्यु टावरमा खटिएको एपीएफ टोलीले जलारीलाई सकुशल उद्वार गरेको हो ।
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट आइतबार एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ ।
भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट सोमबार एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो ।
बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।