फुसको छानो फेर्न ७३ करोड बजेट विनियोजन

रिपोर्ट नेपाल | 2019 May 29 | 05:56 pm 3427

काठमाडौं, जेठ १५ : सरकारले सहरी विकास कार्यक्रमअन्तर्गत आगामी वर्ष मुलुकभरका १८५ नगरपालिकामा एकीकृत सहर विकास गुरुयोजना सुरु गर्ने जनाएको छ। बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्दै रुकुम पूर्व र नवलपरासी पूर्वलाई नमुना सदरमुकाम विकास गरिने बताए।

हुलाकी र मध्यपहाडी सडकको आसपासमा नयाँ सहर बनाउनका लागि १ अर्ब ९१ करोड र जनता आवास कार्यक्रममा ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको पनि अर्थमन्त्री खतिवडाले बताए। अर्थमन्त्री खतिवडाले ३० हजार घर बनाउन काठ र जस्तापातामा अनुदान दिएर २० हजार घरको फुसको छानो फेर्न ७३ करोड बजेट विनियोजन गरेका छन्।

बजेट कार्यक्रममा खतिवडाले जोखिमयुक्त ठाउँबाट सुरक्षित र एकीकृत बस्तीमा सार्न ५० करोड विनियोजन गरिएको र काठमाडौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माणका लागि सबै प्रदेशका राजधानीमा व्यवस्थित पूर्वाधार निर्माण गरिने पनि सुनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.