फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न यातायात व्यवस्था विभागकाे निर्देशन

रिपोर्ट नेपाल | 2022 Dec 21 | 05:03 pm 1381

काठमाडौं, पुस ६ः यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगरेका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ ।

सरकारी गाडीहरूले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए। उनले भने, “सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रूपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन् ।”

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रूपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक डा पाण्डेको दाबी छ । उनका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाइएमा रु दुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.