काठमाडौँ, ०४ पुष / नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज बिहीबार जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन्।
यी दुई टिमबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे शुरू हुने छ। यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
प्रतियोगितामा अब अन्तिम २ खेल बाँकी रहँदा आजको खेलबाट उपाधिका लागि भिड्ने अन्तिम २ टिमको तय हुनेछ। ‘एलिमिनेटर’ जितेर बलियो आत्मविश्वासका साथ क्वालिफायर खेल्न लागेको कर्णाली र पछिल्ला दुई खेलमा लगातार हारेको जनकपुर बिचको यो खेल ‘गर या मर’ का रुपमा रहने छ।
हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्को मौका पाएको छ। हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ।