काठमाडौँ, साउन ३०।लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले कम्पनीको रेटिङसमेत गराइसकेको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङले प्राधिकरणलाई डबल ए प्लस दिएको छ ।
पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । प्राधिकरण ऐन ०४१ मा रहेको स्पष्ट व्यवस्थाबमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषद्मा गएर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्ने घिसिङले जनाए । अबको करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्नेछ ।
प्राधिकरणलाई आगामी ५ वर्षमा साढे ८ खर्ब लगानी आवश्यक पर्ने र त्यसका लागि पनि प्राधिकरणले प्राथमिक सेयर निष्कासन गर्न लागेको उनको भनाइ छ । ‘आगामी ५ वर्षमा कुल ८ खर्ब ५३ अर्ब लगानी गर्नुपर्ने देखिएको छ,’ घिसिङले भने, ‘धेरै लगानी प्रसारण पूर्वाधार निर्माणका लागि आवश्यक छ ।’ सेयरबाट प्राधिकरणले ५० देखि ७० अर्ब उठाउने लक्ष्य राखेको घिसिङले जानकारी दिए ।
आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । त्यसपछि भने प्राधिकरण निरन्तर नाफामा छ । ०७३/७४ मा १ अर्ब ५० करोड, ०७४/७५ मा ३ अर्ब ४३ करोड, ०७५/७६ मा ९ अर्ब ८१ करोड, ०७६/७७ मा ११ अर्ब ७५ करोड, ०७७/७८ मा ६ अर्ब १० करोड, ०७९/८० मा १३ अर्ब ३७ करोड नाफा गरेको थियो । आर्थिक वर्ष ०७९/८० को अपरिष्कृत तथ्यांकअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष नाफामा भने कमी आएको छ ।
यस्तै प्राधिकरणको सञ्चित नाफामा बढोत्तरी भएको छ । सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ । त्यस्तै सरकारको कोषमा साँवा–ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको पनि प्राधिकरणले जनाएको छ ।
(कान्तिपुर)