प्रहरी हाैं भनि लुटपाट गर्ने तीन जना पक्राउ

| 2022 Sep 15 | 08:04 pm 1297

काठमाडौं, भदाै ३०ः  ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्दै आएका २० वर्षीय मिनबहादुर तितुङ (रोहित) छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो । भदौ २२ गते ११ः १० बजेको समयमा ठमेलमा सञ्चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यसैगरी युके पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा साेलुखुम्बु दूधकाेसी गाउँपािलका  वडा नं. २ घर भई हाल काठमाडाैं कागेश्वरी मनाेहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् ।

उनले लमहु सेर्पा समेतलाई वर्किङ भिषामा युके लगायतका देशहरूमा राेजगारीका लागि पठाइदिन्छु भनी विश्वास दिलाई प्रलाेभनमा पारी पीडितहरूबाट १३ लाख ४६ हजार रकम लिई सम्पर्क बिहीन भई ठगी गरेका थिए ।

उनलाई बैदेशिक राेजगार बिभागबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनि पत्राचार भएकाे थियाे । साेही अनुसार यस कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले उनकाे खाेजतलास गरी बिहीबार काठमाडाैं महानगरपालिका वडा नं. ४ धुम्बरहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीकाे लागि बैदेशिक राेजगार विभाग बुद्धनगर काठमाडाैं पठाइएकाे प्रहरी उपरीक्षक कृष्ण प्रसाद काेइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.