काठमाडौं, १ असार : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह सुशोभन गरेका छन् । प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका तथा खुल्ला प्रतियोगिताबाट प्रहरी निरीक्षकमा नयाँ नियुक्ती भएका बिभागीय प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरेका हुन् ।
गृह मन्त्रालयले जेठ गत २९ गते गरेकाे निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएका २७ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका ४९ जना तथा नयाँ नियुक्त प्रहरी निरीक्षक ७५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । पदोन्नती भएका मध्ये एकजना प्रहरी उपरीक्षक तथा ६ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिएका छन् ।
संगठनको नीति र उद्देश्यप्रति गम्भीर भई तोकिएको जिम्मेवारी दृढतापूर्वक पुरा गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिहरूप्रति कठोर भई निर्भिकताकासाथ काम गर्नुपर्ने बताए। प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने चर्चा समेत गरेका छन् ।