काठमाडौँ, साउन २२। नेपाल प्रहरीमा नीतिगत विषयहरू अस्थिर हुन थालेका छन् । नेतृत्व फेरिएसँगै नीतिगत विषय पनि धमाधम संशोधन भइरहेका छन् । यतिवेला प्रहरी प्रधान कार्यालयले सरुवासम्बन्धी नयाँ मापदण्ड बनाएर स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ । गत पुसमा मात्र प्रहरीमा सरुवाको नयाँ मापदण्ड कार्यान्वयनमा ल्याइएको थियो । त्यो मापदण्डका कतिपय प्रावधान संशोधन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेको मापदण्डअनुसार सरुवामा समस्या हुने भए पनि त्यसलाई अनुकूल संशोधन गर्न लागिएको हो ।
प्रहरीमा नियमित सरुवाहरू महिनौँदेखि अवरुद्ध छन् । गत पुसमा मापदण्ड संशोधन गर्दा ‘क’ श्रेणीको कार्यालय प्रमुख दोस्रोपटक फेरि ‘क’ श्रेणीमा जान नपाउने प्रावधान छ । तर, धेरै इन्स्पेक्टर मापदण्डविरुद्ध काजमा त्यसरी कार्यालय प्रमुखका रूपमा खटिएका छन् । शक्तिकेन्द्रको सिफारिसमा गत चैतमा गएका उनीहरूलाई प्रहरी प्रधान कार्यालयले हटाउन सकेको छैन ।
(नयाँ पत्रिकाबाट)