तनहुँ,जेठ २९: पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बालकृष्ण ढुंगेलको रिहाईको विरुद्धमा नेविसंघ तनहुँले मंगलबार साँझ दमौलीमा मसाल जुलुश निकालेको छ ।
कांग्रेसकाे पार्टी कार्यालय तनहुँबाट निस्केको मशाल जुलुश सफा सडक हुर्दै मेनचोकमा पुगी कोणसभा गर्ने क्रममा प्रहरीसंग दोहोरो झडप भएको हाे ।
मेनचोकमा प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा नेविसंघ तनहुँका जिल्ला अध्यक्ष चुडामणि खनाल, सचिव विमल गिरी, क्षेत्रिय सभापति समुन थापामगर र पूर्व केन्द्रिय सदस्य लक्ष्मीभत्त खनाल घाइते भएको नेविसंघ प्रवक्ता हरि खनालले बताए ।
दुवै पक्षबीच झडप हुँदा दमौली बजार केहीबेर तनावग्रस्त हुन पुगेको थियो ।मशाल जुलुश पछि
नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला समेत दहन गरेको छ ।
पेट्रोलियम पदार्थ मुल्य वृद्धि फिर्ता लिनुपर्ने, बलात्कारको आरोप लागेका घिरिङ्ग गाउँपालिका वडा नम्वर ४ वडा अध्यक्ष झक बहादुर कुमाल र वडा सदस्य शक्ति थापालाई पक्राउ नगरेको भन्र्दै नेविसंघले विरोध स्वरुप मशाल जुलुश र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ ।
यता प्रहरीले भने झडपमा कुनै पनि विद्यार्थी घाइते नभएको बताएको छ । प्रहरीले मशाल जुलुश खोस्न खोज्दा सामान्य धकेला धकेल भएको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।