प्रहरीले बरामद गरेको चार किलो सुन कसरी भयो तामा?

रिपोर्ट नेपाल | 2019 Jan 22 | 07:59 am 1773

काठमाडौं, माघ ८ : १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो सुनसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो। प्रदेश ३ प्रहरी कार्यालय हेटौँडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ। तर, राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर नवराज ढुंगेल सुन नै बरामद गरेको विश्वासमा सञ्चारमाध्यममा सूचना दिएको बताउँछन्। बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्‍याउँदा साटिएको हुन सक्ने दुवै सम्भावना छन्। विभागका महानिर्देशक दीर्घराज मैनाली यस्तो मामिला विभागमा पहिलोपटक आएको बताउँछन्। ‘हामी त छक्कै पर्‍र्यौँ,’ उनले भने।

राजस्व अनुसन्धान विभागले सुनचाँदी, रत्न तथा आभूषण महासंघको सहयोगमा परीक्षण गराउँदा तामा र ढलौट मिसिएको धातु भएको पुष्टि भयो। अनुसन्धान विभागले सो धातु स्वामित्वमा लिन मानेन। बरामद भएको धातुसहित सबै अभियुक्तलाई विभागले धादिङ प्रहरीमै फिर्ता पठाइदिएको छ।

‘प्रयोगशाला परीक्षणका क्रममा उक्त धातु सुन नभएको पुष्टि भयो,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भने। महासंघका अध्यक्ष रमेश महर्जनले पनि उक्त धातु सुन नभएको बताए। परीक्षणमा संलग्न महासंघकै सदस्य मीनबहादुर तामाङले सरसर्ती हेर्दा सुनजस्तो देखिए पनि काटेर परीक्षण गर्दा तामा र ढलोट पाइएको बताए।

परीक्षणका क्रममा सुन भनिएको धातुको बिस्कुटको तौल पनि असमान भेटिएको छ। ‘हामीले तौल जोख्दा क्रमशः ९९२, ७७२, ६६५ र ६६८ ग्राम पाइयो,’ महासंघका कार्यकारी सदस्य तामाङले भने, ‘सामान्यतया सुनको बिस्कुट हजार ग्राम तौलको हुन्छ।’

अभियुक्तलाई ठगी मुद्दा

सुनसहित बा.८७ प ७७३१ र प्रदेश ३, ०२–००३ प २५४० मा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरीका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङ पक्राउ परेका थिए। गजुरी गाउँपालिका–१ सिद्धेश्वरी मन्दिरअगाडिबाट पक्राउ परेका उनीहरूले रसुवागढी नाकाबाट सुन तस्करी गरेको आँकलन प्रहरीको थियो। तर, बरामद धातु सुन नभएको खुलेपछि उनीहरूलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्यामकुमार महतोले बताए।

धादिङका एसपी डम्बर विक भन्छन्, ‘प्रहरीले सुन भनेरै बरामद गरेको हो, तर राजस्वले सुन होइन भन्यो। बरामद भएको धेरै दिनसम्म सार्वजनिक नगर्दा पनि प्रहरीमाथि अनेक शंका हुने थियो। त्यसैले सुन बरामद गरिएको सार्वजनिक गरिएको हो। त्यसमा प्रहरीको कुनै गलत नियत वा चलखेल छैन। बरामद हुँदाको मुचुल्का र राजस्व अनुसन्धान विभागलाई बुझाइएको विवरणबाट पनि त्यसको पुष्टि हुन्छ।’

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.