धादिङ, कात्तिक ६: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय गजुरीले बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङस्थित मलेखु बजारमा करिव ५० जना होटेल तथा रेष्टुरेन्ट व्यबसायीहरुको उपस्थितिमा चाड पर्व लक्षित बिशेष सुरक्षा योजना अन्तरगत होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरु, जनप्रतिनिधि र पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम गजुरी गाउँपालिका वार्ड नं २ स्थित मलेखु बजारमा रहेको भद्रकाली सामुदायिक विकास समाजको हलमा भएको थियो ।
कार्यक्रममा उपस्थित भएका व्यवसायीहरु माझ राजमार्ग ईलाकामा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खास गरी लामो तथा छोटो दुरीका सार्वजानिक तथा निजि यातायातका सवारी साधनहरुका चालकहरुलाई मदिरा बिक्रि वितरण गर्ने कार्यलाई नियमन तथा नियन्त्रण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रम ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले यस कार्यक्रम आयोजना गर्नुको उद्देश्यको बारेमा प्रकाश पारी अन्तरक्रिया कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा सहभागीहरुबाट होटेल तथा रेष्टुरेन्ट व्यवसायलाई मर्यादित बनाउने र चालकहरुलाई मदिरा बिक्रि वितरण निषेध र नियमन गर्ने सन्दर्भमा बिभिन्न सवाल तथा जिज्ञासाहरु उठाएका थिए ।
आएका जिज्ञासाहरुको प्रकाश पार्दै ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनाउ खगेन्द्र बहादुर खड्काले चालकलाई जिम्मेवारपुर्वक मदिरा बिक्रि वितरणमा कडाई गरी दुर्घटना हुन नदिन र नागरिकको जीउधनको सुरक्षा गर्ने सामाजिक दायित्वलाई इमान्दारिताका साथ जिम्मेवारपुर्वक निर्वाह गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
साथै गजुरी गाउँपालिका वाडा नं २ का वडाध्यक्ष्य, होटेल संघ धादिङका उपाध्यक्ष्य र जिट्राप्रका गजुरीका प्रहरी निरीक्षकले समेत धारणाहरु राखेका थिए ।
कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले गरेका थिए ।
कार्यक्रम ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी मलेखुले संयुक्त रुपमा आयोजना गरेका थिए ।