प्रहरीद्वारा गाँजा खेती नष्ट

रिपोर्ट नेपाल | 2019 Jul 19 | 03:08 pm 2634

गोरखा, साउन  ३ :  गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ । सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ‘हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो’, उनले भने, ‘त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।’

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उनले जानकारी दिए । ‘हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्न समेत भनेका छौं’, प्रहरी उपरीक्षक अधिकारीले भने ।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । ‘अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौ’, उनले भने । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागूऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाही समेत गर्ने बताए । ‘पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छाैं, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाही समेत शुरु हुन्छ’, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.