काठमाण्डौं, असार १: महानगरिय प्रहरी परिसर काठमाण्डौंले घरैमा अन्न कुहाएर बनाइने घरेलु मदिरालाई नियन्त्रण गर्ने अभियान चलाएको छ ।
जनताको स्वास्थ्यमा सिधै हानि पुर्याउने युरीया मल प्रयोग गरेको जन गुनासो आएपछि काठमाण्डौं प्रहरीले घरेलु मदिरा विरुद्ध धावा बालेको हो ।
महानगरिय प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार झण्डै एक करोड मुल्य बराबरको मदिरा बनाउने सामाग्री नष्ट गरीएको छ ।
सबै भन्दा बढी बौद्ध एरियामा भेटिएको मदिरा र सामाग्री काठमाण्डौं प्रहरीले नष्ट गरेको छ । घरेलु मदिराले शान्ति सुरक्षमा खलल पुर्याउने मात्रै नभएर स्वास्थ्यमा सिधै असर पुग्ने भएकाले नष्ट गर्ने कुरालाई प्राथमिकता राखिएको एसएसपी पोख्रेलको भनाइ रहेको छ ।
उनका अनुसार यस्तो मदिराले घरेलु हिंसा बढेको पनि बताएका छन् । एसएसपी पोख्रेलले ब्राण्डेड हिस्की लगाएतका मदिरा पनि नक्कली बन्ने गरेको गुनासो आएकोले प्रहरीको नजर त्यता पनि सोझिएको बताएका छन् । नियन्त्रणमा लिएको मदिरा राजस्वमा बुझाएमा प्रति लिटर पाँच रुपैयाँ आउने भए पनि प्रहरीले भने नष्ट गरेको छ ।