प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने अभियोग लागेका अभिराम शर्मालाई गिरफ्तार गर्न उच्च अदालत जनकपुरले आदेस दिएको छ । असई थमन विकका हत्या आरोपी शर्मा यतिबेला प्रदेश २ का राज्यमन्त्री ओहदामा छन् । अभिराम शर्माका साथै जलेश्वर नगरपालिकाका प्रमुख शंकर शाही भनिने रामशंकर मिश्रलाई पनि गिरफ्तार गर्न अदालतले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको हो।
तर, साउन १७ गते उच्च अदालतले हुलाकमार्फत पठाएको गिरफ्तार गर्ने पत्र जिल्ला प्रहरी कार्यालय महोत्तरीले साउन १८ गते दिउँसोसम्म प्राप्त नगरेको बताइन्छ । जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले उच्च अदालतको पत्र प्राप्त नभइसकेको जनाएका हुन् । पत्र प्राप्त भएपछि कानूनअनुसार कारवाही अगाडि बढ्ने उनको भनाई छ ।
तर, प्रहरी उपरीक्षक कडायतको यसैबीच सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक ईश्वर कार्की आउने भएका छन् ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले असई विकको हत्या आरोपीलाई अविलम्ब गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरेका थिए ।
सशस्त्र प्रहरीका असई विकको हत्याका आरोप लागेका अभिराम शर्मा प्रदेश २ को समाजिक विकास राज्यमन्त्री हुन् भने अर्का आरोपी रामशंकर मिश्र जलेश्वर नगरपालिकाका निर्वाचित प्रमुख हुन् ।
राज्यमन्त्री शर्मा र प्रमुख मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नं ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल राय पनि विक हत्याका आरोपी हुन् । राय संघीय समाजवादी फोरमका नेता हुन् । मधेश आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ साल भदौ २५ गते हत्या गरिएको थियो ।
आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर महोत्तरीको सनउखरा भन्ने ठाउँमा हत्या गरिएको थियो ।
विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् । असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ साल फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीको हकमा वारेन्टको ७० दिने म्यादी पुर्जी जारी गरेको थियो ।