प्रस्ताव स्वीकृत भएमा नेपाली कामदार लेबनान जान पाउने

रिपोर्ट नेपाल | 2023 Aug 24 | 01:12 pm 1353

काठमाडौं, भदाै ७ । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले नेपाली कामदार लैजाने प्रस्ताव गरेका छन् ।

आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग नेपाली कामदार लैजाने प्रस्ताव गरेका हुन्।

गोजाएलले लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरे। लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए ।

श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर प्रत्येक वर्ष केही नेपाली जाने गरेका छन् ।

लेबनानले विशेष गरी घरेलु कामदार लैजाने प्रस्ताव गरेको हो । त्यस्तै निर्माण क्षेत्रका लागि समेत कामदार लैजान सकिने बताएको हो । लेबनानमा अहिले ठुल्ठुला भवन तथा निर्माण क्षेत्रमा राम्रो अवसर देखिएका छ ।

त्यस्तै हस्पिटालिटी क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । ठुल्ठुला होटेल खुलिरहेको भन्दै त्यसका लागि केही नेपाली कामदार लैजाने प्रस्ताव गरेको पोखरेलले बताए ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९-८० मा ५४ जना नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर लेबनान गएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.