दाङ, पुस २० : तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० मा रहेको जन जागृति माध्यमिक विद्यालय पातु वनगाउँका विद्यार्थीहरुले आफै विभिन्न शैक्षिक सामग्री गरेर गणीतका विभिन्न समस्या समाधान गरिरहेका छन् ।
विद्यालयका गणीत शिक्षक अर्जुन कोहरका अनुसार विद्यार्थीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विद्यार्थीहरुले विभिन्न ज्यामितिय आकृति वनाउँदै गणितको अभ्यास गरेका थिए ।
“विद्यार्थीमा आफैले गरेर नयाँ कुरा सिक्नुका साथै गणीतको व्यवहारीक प्रयोगका बारे जानकारी दिन यसो गरिएको हो” शिक्षक कोहरले वताए । उनले विद्यार्थीमा सीप सिक्दै नयाँ कुरा जान्ने क्षमताको विकास गर्नका लागि यसो गरिएको बताए ।
विद्यार्थीले पढ्नका लागि सबैभन्दा अल्छि मान्ने विषयलाई रोचक ढँगले अध्यापन गराउनु चुनौति भए पनि विस्तारै रमाईलो हुँदै गएको शिक्षक कोहरले बताए ।

टिच फर नेपालको सहयोगमा २ वर्षका लागि उक्त विद्यालयमा अध्यापन गराउन गएका कोहर विद्यार्थीमा अभिरुचि पैदा गरेर अध्यापन गराउनुपर्ने आवश्यकता रहेको बताउँछन् ।
विभिन्न आकृति बनाएर प्रयोगात्मक रुपमा नयाँ कुरा सिक्न पाएकोमा विद्यार्थी जोसेफ घर्ति निकै खुसी छन् । “रमाईलो पनि भएको छ, नयाँ कुरा पनि सिकिएको छ ” घर्तिले भने ।
त्यस्तै अर्की विद्यार्थी सीमा चौधरीले नयाँ प्रविधिबाट सिक्न पाउँदा खुसी मात्रै व्यक्त गरिनन् आफूलाई अत्यन्त गाह्रो लाग्ने विषय सजिलो भएको समेत बताइन् ।
विद्यार्थीहरुलाई विभिन्न समुहमा बाँडेर प्रयोगात्मक कक्षा गराइने र त्यसबाट उनीहरुको पोजिसन समेत निकालिने भएकाले उनीहरुका प्रतिष्पर्धात्मक भावनाको विकास समेत हुने शिक्षक कोहरले बताए ।