मंगलबार चीन भ्रमणका निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र बेइजिङमा रहँदा प्रम ओली हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहने जानकारी मिलेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेका ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।