प्रम ओलीले चीनलार्इ बुझाए भद्र र रुपसी, चिनियाँ विशेष जहाजमा लैजाने

रिपोर्ट नेपाल | 2018 Jul 12 | 12:04 pm 4332

काठमाडौं, असार २८: प्रधानमन्त्री केपीशर्मा ओलीले चीनलाई उपहार दिने दुर्लभ एकसिंगे गैंडाको जोडी ‘भद्र’ र ‘रुपसी’ बिहीबार नेपालका लागि चिनियाँ राजदूत यु होङलाई हस्तान्तरण गरेका छन्।

प्रम ओलीले बिहीबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा एक जोडी गैंडा हस्तान्तरण गरेका हुन्।

‘भद्र’ र ‘रुपसी’लाई मंगलबार चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । अब चीनबाट आउने विशेष जहाजमा चढाएर ति दुवै गैंडालाई चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले जानकारी दिए । ती गैंडालाई चीनको सांघाई र गोन्झाओमा रहेको मानव निर्मित पार्कमा राखिने छ ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले पोथी गैंडाको नाम ‘रुपसी’ र भाले गैंडाको नाम ‘भद्र’ राखिदिएको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह-सेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंडालाई स्कर्टिङ गर्दै काठमाडौं ल्याएको थियो ।

गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाने छन्।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैंडा रहेका छन्। चितवनमा मात्रै ६०५ गैंडा रहेको तथ्यांक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.