काठमाडौं, भदौ ५: सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।
गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री दिइने उल्लेख थियो। १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ।
गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो। आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ। तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन।
प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो।
प्रमुख आयुक्त यादवले भने आश्चर्य प्रकट गरे । विभूषण पाउनेहरुको सूचीमा तपाईंको नाम त काटिएछ नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो नाम त थियो । काटिएछ ?’
घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताए ।