पर्वत,असार ३० : जनतालाई सेवा दिने जिल्लाकै सरकारी स्वास्थ्य कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । कार्यालय प्रमुख नहुँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ ।
नयाँ आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिएका छन् । ।
तत्कालका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसँग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फर्छ्यौटमा समस्या देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका प्रमुखको सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिएका छन् । ।