काठमाडौँ १५ फागुन । नेपाल राष्ट्र बैंकको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भान्जा एवम् प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र तुलसीराम गौतमसहितसहित ११ जनालाई पक्राउ गरकाे छ।
सेञ्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो।
न्यौपाने यसअघि सेञ्चुरीको सीईओ थिए भने न्यौपाने भन्दा अघि गौतम सीईओ थिए। दुवै सीईओको पालामा कर्जा अपचलन भएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। । सेञ्चुरी कमर्शियल बैंकपछि प्रभू बैंकमा गाभिएसँगै उनी त्यहाँ ‘सेकेन्ड म्यान’ बनेर रहेका थिए।
प्रहरीका अनुसार कर्जा हिनामिना गरेको आरोपमा यी दुई बरिष्ठ कर्मचारीका साथै दीलिप बराल, राजेश भण्डारी, दिपेश प्रधान, रमण श्रेष्ठ लगायत पक्राउ परेका छन । उनीहरुले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँ र उनको समूहलाई धितोको अधिमूल्यांकन गरी बढी कर्जा दिएको आरोप लगाइएको छ।