प्रधान सेनापतिद्वारा युनिटी जर्नलको दोश्रो संस्करणको विमोचन

| 2021 Mar 10 | 12:23 pm 1813

काठमाडाैं, फागुन २६ः महाशिवरात्री तथा सेना दिवस-२०७७ को अवसरमा नेपाली सेनाले दोश्रो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह युनिटी जर्नल दोश्रो संस्करणको मंगलबार जंगी अड्‍डामा आयोजित एक समारोहका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका छन् ।

बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ४० वटा मध्ये उत्कृष्ट २९ वटा लेख रचनाहरु समावेश गरी प्रकाशन भएको उक्त जर्नलमा गौरव भट्टराई, फनिन्द्र सुब्बा र महा सेनानी आनन्द सिंह भाट (अ.प्रा.) द्वारा लिखित लेख रचनाहरु क्रमशः प्रथम, द्वितिय र तृतिय हुन सफल भएका थिए ।

उक्त लेखका सर्जकहरुलाई प्रधान सेनापति पूर्ण चन्द्र थापाले क्रमशः दुई लाख,  एक लाख पचास हजार र एक लाख नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गरेका थिए । साथै, उक्त विमोचन कार्यक्रममा अन्य २६ वटा लेख तथा रचनाका लेखकहरुलाई रक्षा सचिव रेश्मी राज पाण्डेबाट नगद पुरस्कार, मोमेण्टो तथा कदरपत्र प्रदान गरेका थिए ।

उपरथी बालकृष्ण कार्कीको स्वागत मन्तव्य संगै शुरु भएको उक्त कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डिन, प्राध्यापक वर्ग, प्रिन्सिपल तथा कमाण्डाण्टहरु, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, इतिहास तथा संस्कृति विदहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, युनिटी जर्नलको सम्पादक मण्डल, लेख रचना उपलब्ध गराउने लेखकहरु तथा सञ्‍चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

दोश्रो पटक आयोजना गरिएको खुला सामरिक लेख रचना प्रतियोगिता-२०७७ बाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्‍न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन बृद्वि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.