प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2023 Mar 17 | 05:58 pm 801

काठमाडाैं, चैत ३ः नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज मिति २०७९ चैत ३ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी
पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई आज प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

आजको कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा भएका अधिकृतहरुको परिवारजनको उपस्थिति थियो ।

लामो समय सेनामा रहेर योगदान पुर्‍याएका एवं अनुभव हासिल गरेका पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको र सकलदर्जाको हौसला अभिवृद्धि हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.