प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६ को समुद्‍घाटन

| 2019 Dec 15 | 09:16 pm 1819

काठमाडौं, मंसिर २९: अखिल नेपाल फुटबल संघको सहकार्य र नेपाली सेनाको आयोजनामा सञ्‍चालन भएको प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६ को आइतबारबाट सुरु भएको छ ।

खेल प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा एक विशेष समारोहका बीच समुद्‍घाटन गरेका हुन् ।

प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७६ मा प्रदेश नं १, २ र ५ को ३ टिम, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ ३ टिम र छिमेकी राष्ट्र भारतको सिक्किम र भुटानका २ टिम गरी जम्मा ८ टिमको सहभागिता रहेको छ ।

२०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमशः प्रथमलाई ३ लाख, द्वितीयलाई १ लाख ५० हजार तृतीयलाई १ लाख, सेमीफाईनलमा पुग्ने २ टिमलाई ५०/५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर १ थान तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई समेत नगद पुरस्कार १० हजारका दरले प्रदान गरिनेछ ।

आइतबार जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मी क्लब र नं १ प्रदेशको टिम बीच भएको पहिलो खेलमा ० का विरुद्ध ९ गोल गरेर त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

आज भएको पहिलो खेलमा ओमेन अफ द म्याच घोषित भएकी त्रिभुवन आर्मी क्लबकी शर्मिला थापा मगरलाई प्रधानसेनापति थापाले पुरस्कार वितरण गरेका थिए ।

पुस ९ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु लिगकम नक आउटको आधारमा खेलाइने छ ।

समुद्‍घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, अखिल नेपाल फुटबल संघका अध्यक्ष, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, विभिन्‍न मिडियाका सञ्‍चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.