काठमाडौं, असार १३: नेपाल सरकारको एक नेपाली एक फलफूलको विरुवा रोपण अभियानलाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान कार्यक्रमको लागु गरेको छ ।
सोहि अभियान बमोजिम शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्न जातका फलफूलका विरुवाहरु रोपेर विरुवा रोपण अभियानको शुभारम्भ गरेका छन्।

स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ–आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्न स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले विरुवा रोपण गरेका छन् ।
व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २ सय ५० वटा विभिन्न जातका फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जंगी अड्डामा कार्यरत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।