प्रधानमन्त्री र प्रधानसेनापतिद्वारा बाढी प्रभावित क्षेत्रकाे निरिक्षण

| 2023 Jun 19 | 06:35 pm 1221

काठमाडौं, असार ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वी पहाडका बाढी पहिरो गएका ठाउँहरुमा स्थलगत निरिक्षण गरेका छन् ।

गत असार २ गते राती परेको अविरल वर्षाका कारण कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायतका जिल्लाहरुमा बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त भएपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अवलोकनका लागि उक्त क्षेत्रमा गएका हुन् ।

बाढी पहिरो प्रभावित पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा प्रधानमन्त्री सवार हेलिकोप्टर जान नसके पनि नेपाली सेनाको उद्दार टोली पुगेर खोलाघारी गाउँबाट पहिरोमा खसेका १० जनालाई हेलिकोप्टरबाट उद्दार गरेको थियो ।
त्यसैगरी पाँचथरकै फिदिम नगरपालिका वडा नं. ४, हिलिहाङ्ग गाउँपालिका वडा नं. ५ को बिचमा पर्ने माझिटार ईलाकामा पनि सेनाले आफ्नो उद्दारलाई क्रियाशिल बनाएको छ । हेवाखोला र तमोर नदिको किनार, हेवाखोला किनार र माउण्टेन हाईड्रो ईलाकामा नेपाली सेना सहितको टोलीले खोज तथा उद्धारको कार्य गर्नुका साथै माझिटार बस्तीको बासिन्दाहरुको खाद्यान्न, लत्ता कपडा, भाँडा वर्तन, फर्निचरका सामानहरु लगायत अन्य विविध सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेको नेपाली सेना द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी संखुवासभा जिल्लाको हेवा खोलामा आएको बाढीका कारण चैनपुर नगरपालिका, वडा नं. ४, दोभानेबाट ६७ कि.मि. उत्तर पूर्वमा रहेको सुपर हेवाखोला हाईड्रो पावरको मजदुर बस्ने क्याम्पमा समेत क्षति पुगेकोमा प्रहरी र स्थानीयको सहयोगमा खोजी तथा उद्दार गरिएको जनाइएको छ । उक्त हाईड्रो पावरमा क्षति पुर्याउनुका साथै हाईड्रो पावरमा काम गर्ने कामदार १ जनाको मृत्यु, ३ जना घाईते तथा २१ जना बेपत्ता भएको हुँदा नेपाली सेनाको खोज तथा उद्धार टोलीले घाईते ३ जनालाई नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेपत्ता भएका कामदारहरुको खोजी कार्य जारी रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डका साथै नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा पनि बाढी पहिरो प्रभावित क्षेत्रमा स्थलगत निरिक्षण गरी वस्तुस्थिति जानकारी लिई उद्दार कार्यमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका थिए ।

फाेटाेफिचरः

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.