काठमाडौं, पुस ३ : युरोपियन युनियनसँगको सम्बन्ध विच्छेद सम्झौता ब्रेक्जिटको मस्यौदा संसदमा पेश गर्न नसकेको भन्दै प्रतिपक्षी सासंदले बेलायती प्रधानमन्त्री टेरेसा मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
बेलायत सरकारले आगामी जनवरी १४ मा ब्रेक्जिट सम्बन्धी सम्झौता संसदमा मतदानका लागि लग्ने तयारी गरेको छ । राष्ट्रिय संकटका बेला एक महिनासम्म कुर्नुको औचित्य नरहेको भन्दै प्रतिपक्षी सांसदले आलोचना गर्दै आएका छन् ।
सरकारसँग अनावश्यक राजनीतिक खेलका लागि समय नरहेकाले अविश्वासको प्रस्ताव मतदानसम्म पुग्न नदिने सरकारको रणनीति रहेको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री मे विरुद्ध पेश गरिएको अविश्वास पुष्टि गर्न प्रतिपक्षी लेबर पार्टीका लागि भने चुनौतीपूर्ण देखिएको छ ।
सन् २०१९ मार्च २९ बाट बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा छुट्टिने छ । कुनै सम्झौता विना बाहिरिदा आर्थिक संकट निम्तिन सक्ने भन्दै बेलायत सरकार मस्यौदा पारित गराउने पक्षमा रहेपनि आन्तरिक राजनीतिको चपेटामा फसेको हो ।