प्रधानमन्त्री देउवा एमाले महाधिवेशनलाई सम्बोधन गर्न चितवनमा

रिपोर्ट नेपाल | 2021 Nov 26 | 02:22 pm 1805

चितवन, मङ्सिर १०ः नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा भर्खरै महाधिवेशन उद्घाटन समारोहमा पुगेका हुन् ।

नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर उनी काठमाडौँ फर्कनेछन् । एमाले अधिवेशनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का अध्यक्ष महन्थ ठाकुरलगायत विभिन्न दलका नेता चितवन पुगेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएका छैनन् ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेता उपस्थित भएका छन् । उक्त महाधिवेशन १२ गतेसम्म  चल्ने बताइएकाे छ । महाधिवेशन उद्घाटनपछि बन्दसत्र सौराहामा हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.