प्रधानमन्त्री देउवाद्वारा तिहार–२०७९, नेपाल संवत् ११४३ को अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल | 2022 Oct 25 | 07:48 am 1261

काठमाडौं, कात्तिक ८ः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हपूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गरेका छन् ।

उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुराउदै आएको बताएका छन् ।

तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुराएका छन् ।

औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले बताएका छन् । उक्त अवसरमा प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिसम्म पाँच दिनसम्म अत्यन्त हर्ष र उल्लासका साथ मनाइने यमपञ्चकको रूपमा समेत चिनिने यस पर्वका अवसरमा मानव समाजका लागि उपयोगी काग, कुकुर, गाई, गोरुलगायत पशुपन्छीका साथै कार्तिक कृष्ण अमावास्याका दिन धन र ऐश्वर्यकी देवी लक्ष्मीको विधि विधानपूर्वक पूजा अर्चना गरी साँझमा घर–आगनमा दीपावली गरी देउसी भैलो खेल्दै नाँचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ ।

उनले तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच एक आपसमा प्रेम, सांस्कृतिक सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै तिहार पर्व २०७९ को पुनीत अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.