प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप

| 2021 Jul 19 | 07:47 am 365

काठमाडौं, साउन ४ः प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् ।

‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा अहिलेको अवस्थामा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्तुष्टि जनाए । विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद्मा आएको भए आफूलाई खुशी लाग्ने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । संविधानमा भएको धारा ७६ (५)को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरे ।

देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए । ओली प्रधानमन्त्री हुँदा सधैं आफू बैठकमा आएको बताउँदै प्रधानमन्त्री देउवाले के कारणले नआएको हो थाहा नभएको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.