प्रधानमन्त्री दाहालको विश्वास : सत्तागठबन्धन पाँचै वर्ष टिक्छ

| 2023 Dec 12 | 08:40 am 325

काठमाण्डौ, मंसिर २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तारूढ गठबन्धन तोड्ने खेल भए पनि पाँचै वर्ष टिक्ने बताएका छन् । गठबन्धन दलहरूबीच निरन्तर छलफल भइरहेको र नयाँ रणनीतिका साथ अगाडि बढ्ने उनले बताए । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकमा प्रचण्डले गठबन्धनमा तलमाथि नहुने बताएका हुन ।

‘अहिले विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने एकथरीको कसरत भइरहेको छ,’ प्रचण्डले भने, ‘तर, तिनीहरूले चाहँदैमा यो गठबन्धन तलमाथि हुँदैन । गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । गठबन्धन पूरै अवधि जान्छ ।’ सरकारले एक वर्षको समीक्षा गर्ने र नयाँ रणनीतिका साथ अगाडि बढ्ने उनले बताए ।

आगामी १० पुसमा प्रचण्ड प्रधानमन्त्री बनेको एक वर्ष पुग्दै छ । एक वर्षको समीक्षा गरेर राम्रो पक्षलाई अँगाल्दै कमजोरी सच्याएर अगाडि बढ्ने उनले बताए । उनले अतिवादी र अराजकतावादी शक्तिहरू सरकारको क्रियाशीलताका कारण निकै आतंकित बनेको बताए । अतिवादी र अराजकतावादीले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले तथ्यहीन र भ्रामक विषयको प्रतिवाद गर्न आग्रह गरे । उनले एनसेल प्रकरणमा पनि गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाए । एनसेल खरिद–बिक्री प्रकरणमा सरकारको बदनाम गर्न खोजिएको उनको गुनासो छ ।
‘पहिला–पहिला भएका ठुल्ठूला भ्रष्टाचारकाण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले एनसेलमा गरेको छ भनेर प्रचार भयो । म युएईबाट फर्किँदै गर्दा षड्यन्त्रमूलक र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ । त्यसको केही प्रतिवाद बाहिर ल्याइनँ । मैले राष्ट्र र जनताको हितमा, संविधान र लोकतन्त्रको हितमा जे गर्नुपथ्र्यो, दृढताका साथ अगाडि बढेँ । तपाईं कल्पना गर्नुस्, यति तलबाट मानिसहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं–हामीले सत्यको पक्षमा, जनताको पक्षमा, न्यायको पक्षमा लेख्ने, बोल्ने गर्नुपर्छ, यस्ता झुटा प्रचारको प्रतिवाद गर्नु र जनतालाई सही सूचना दिनुपर्छ,’ उनले भने ।

व्यवस्थाविरोधी शक्तिलाई सरकारले गरेको राम्रो काम टाउको दुखाइ बनेको उनको भनाइ छ । सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनले दाबी गरे । राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको भन्दै उनले अर्थतन्त्रमा सुधार आएको बताए । ‘अर्थतन्त्र सुधार हुँदै छ । मौद्रिक नीति समीक्षाले सुधारको संकेत देखाएको छ,’ उनले भने, ‘जतिसुकै घेराबन्दी भए पनि राष्ट्र र जनताप्रति इमानदार हुँदा कसैको केही लाग्ने रहेनछ । अब विकास निर्माणका काममा पनि परिणाम देखिँदै जान्छ ।’

 

( नयाँपत्रिकाबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.