काठमाडौं, पुस १६: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा प्रम ओलीले भापम मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् ।
भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
ओलीले एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन् ।
दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा विवादबारे कुराकानी भए नभएबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन् ।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिप्रति चासो राखेका थिए।
टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन बाँकी समस्या २०२० भित्र समाधान गर्ने सहमति पनि भएको थापाले बताए।