काठमाडौँ १८ पुष / प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा सक्रिय हुने करिब करिब निश्चित भएसगै पूर्वराष्ट्रपति भण्डारीको चर्चा बढेर गएको छ ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन् ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने चर्चाबीच एमाले अध्यक्ष समेत रहेका ओलीसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
बिहीबार नै एमालेको सचिवालय बैठक बसेको थियो भने यही पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
भण्डारी एमाले उपाध्यक्ष हुँदा उनको समूहका रहेका नेताहरूले अहिले पनि उनलाई राजनीतिमा आउन दबाब दिइरहेका छन् ।
भण्डारी पनि एमाले निकटका विभिन्न संघसंस्थाले गरेका कार्यक्रम र अन्य कार्यक्रममा सक्रियतापूर्वक सहभागी भइरहेकी छन् ।