काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ गते चीन भ्रमणमा जाँदा धर्मपत्नीलाई पनि सँगै लाने भएका छन् । खछ्याङको निमन्त्रणामा चीन जान लागेका प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य पनि जान लागेकी हुन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ ।