काठमाडौं, भदौ ५: प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाईंका लागि मंगलबार बिहान बिराटनगर जाँदै छन्।
राजनीतिक उतारचढाव, नयाँ कानुन जारी, संवैधानिक व्यवस्थाअनुसार मौलिक हकसँग सम्बन्धित विधेयकको मस्यौदा लगायत कारण पछिल्लो केही महिना उहाँ काठमाडौं केन्द्रित भएका थिए।
वायो ग्यास उद्घाटन देखि कार्यकर्ता भेटघाटसम्मको कार्यक्रम लिएर प्रधानमन्त्री ओली बिहान पौने ११ बजे बिराटनगर उड्ने कार्यतालिका रहेको जनाइएको छ।
पहिलो दिन बिराटनगर महानगरपालिका १४ मा वायो ग्यास उद्घाटन, प्रदेश एकका नेता तथा कार्यकर्तालाई सम्बोधन तथा उद्योगी, व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भोली झापाका कमल गाउँपालिकाको लखनपुरमा आयुर्वेदिक औषधालयको शिलान्यास गर्नुका साथै क्षेत्रीयस्तरका कार्यकर्तालाई सम्बोधन गर्नेछन्। उनी भोली अपरान्ह साढे तीन बजे काठमाडौं फर्कने प्रेस संयोजक अधिकारीले बताए।
यसअघि भदौ २ गते प्रधानमन्त्री ओली प्रदेश नम्बर २ को प्रदेश सभालार्इ सम्बोधन गरेका थिए।