प्रधानमन्त्री ओलीसँग मन्त्रिमण्डल पुनर्गठनको छलफल भइरहेको छ : प्रचण्ड

| 2019 Mar 12 | 04:32 pm 1759

विराटनगर, फागुन २८ :  सरकारले मन्त्री मण्डल पुनर्गठन नहुने बताइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

विराटनगरको सहिद रंगशालामा आजबाट सुरु हुने साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग  सरकार पुनर्गठनबारे छलफल अघि बढेको बताए ।

उनले मंगलबार विहान मात्र प्रधानमन्त्रीसँग सरकार पुनगर्ठनबारे कुराकानी भएको जानकारी दिएका छन् । उनले भने, ‘आज बिहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको छ, अहिले म सिधै बालुवाटारबाट यहाँ आएको हुँ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको थियो।’

उनले भने, ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन ।’ उनले मन्त्री हेरफेर गरिए को–को मन्त्री परिवर्तन हुनसक्छ भन्नेबारेमा भने केहि बोलेनन् ।

‘सिके राउतबारे पार्टीका साथीहरुले बाहिर नबोल्दा राम्रो’

प्रचण्डले स्वतन्त्र मधेस गठबन्धनका सिके राउत र उनीसँग सरकारले गरेको सहमतिबारे तत्कालै टिप्पणी गर्नु हतारो हुने बताएका छन् । ‘सिके राउतले पहिला लिएका नीतिहरुबारेमा थाहा भएकै हो । उनीबारे कुनै हतार गर्नु जरुरी छैन’, दाहालले भने, ‘संविधानको पक्षमा पहल बढाउन सरकारले समझदारी गरेको हो । सरकारले गरेको समझदारीमा मेरो पूर्ण सहमति छ ।’

अध्यक्ष दाहालले पार्टीका नेता भीम रावलसहितले सरकार र सिके राउतबारे भएको सहमतिबारे गरेको विरोधप्रति टिप्पणी गर्दै अहिले बाहिर नबोल्दा उचित हुने बताए ।

‘सिके राउतबारे पार्टीका साथीहरुले बाहिर नबोल्दा राम्रो हुन्छ’, उनले भने, ‘सरकारले गलत मनासयले सहमति गरेको होइन ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.