काठमाडौं, कात्तिक १६ः प्रधानमन्त्री केपी ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेट मुलुकका लागि आवश्यक थियो भन्ने प्रमाणित गर्न तत्काल भारतीय समकक्षी नरेन्द्र मोदीसँग बैठक गर्नुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा व्यावहारिकरुपमै नेपालको बनाउन सक्नुपर्छ ।
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले भनेका छन्–कूटनीतिक सम्बन्ध विस्तारमा ओली असफल सावित भएका छन्, रअ प्रमुख गोयलसँगको भेटले उहाँले आफ्नो स्तरलाई भारतीय एक निकायका प्रमुखको हैसियतमा झार्नुभएको छ । नेपाली कांग्रेसका नेताका रुपमा पनि परिचित उपाध्याय प्रश्न गर्छन्– श्रीलंकालगायत दक्षिण एसियाका सरकार प्रमुखले भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न सक्ने, तर प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेटेर काम चलाउनुपर्ने?
ओली–गोयल भेटवार्ता कुनै पनि दृष्टिकोणले मुलुकको हितमा नरहेको, कूटनीतिक मर्यादाविपरीत भएको र राष्ट्रिय अपमानको विषय भएको भन्दै सत्ताधारी दल नेकपाबाट समेत आलोचना भएको छ । प्रधानमन्त्री ओलीले गोयलसँग भेटघाटै भएको छैनजस्तो गरेर मौनता साँध्नुभएको छ, जनतालाई सत्य बोध गराउने जिम्मेवारीबाट उहाँ भाग्नुभएको छ ।
ओली–गोयल भेटको व्यापक आलोचना भए पनि मुलुकका लागि तत्काल ठोस उपलब्धि दिन सकेको भए, दुई मुलुकबीच नयाँ नक्सा प्रकरणले बिगारेको सम्बन्ध सुधार गर्न सक्नुभएको भए नेपालीहरु ‘सरकार प्रमुखको भिजन त यस्तो पो’ भन्ने थिए । तर, परराष्ट्र मन्त्रालयलाई जानकारीसम्म नदिइएको र नेपाल–भारत सम्बन्धका औपचारिक कागजातमा अभिलेख पनि नहुने गरी भएको यस भेटघाटले ‘ओली प्रधानमन्त्रीका लागि अयोग्य नै हुन्’ भन्नेहरुले प्रमाण पाएका छन् । उपाध्यायले भनेका छन् । नेपाल समाचारपत्रबाट