प्रधानमन्त्री ओलीले गणतन्त्र धरापमा पारेको प्रचण्डकाे आरोप

रिपोर्ट नेपाल | 2020 Dec 25 | 04:31 pm 2525

काठमाडाैं, पुस १०ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र धरापमा पारेको आरोप लगाएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रिय कमिटी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरु गणतन्त्रका लागि लडिरहँदा ओलीले गणतन्त्र असम्भव छ भन्दै आएको समेत स्मरण गराए ।

उनले संसद विघटनका विरुद्धमा आजैबाट आन्दोलन सुरु भएको भन्दै पहिलो चरणको आन्दोलनबाट पनि सुनुवाइ नभए सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।

उनले २९५ जनाको हस्ताक्षर आजै निर्वाचन आयोगमा बुझाएको जानकारी दिदै त्यो संख्या बहुमत भएको र अर्कोतिर ४० प्रतिशत पनि नपुगेकाले पार्टीको नाम, चुनाव चिन्ह र लोगो आफ्नो नेतृत्वको नेकपाले पाउने कुरा स्वतः सिद्ध भएको बताए । उनले लोकतन्त्रको हत्या गर्ने दुस्साहस गरिएको बताए ।

प्रचण्डले संसद विघटनको प्रस्तावविरुद्ध अदालतले सहि फैसला सुनाउने विश्वास आफूलाई भएको बताएका छन् । उनले संविधानको मर्म र जनताको भावनाअनुसार अदालतको फैसला आउने विश्वासमा रहेको बताए ।

कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकले गरेका निर्णयका बारेमा जानकारी गराएका थिए । उनले लोकतन्त्र र संविधानको पक्षमा भएको आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.