प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको बैठक आब्हान

रिपोर्ट नेपाल | 2020 Mar 22 | 01:36 pm 1211

काठमाडौं, चैत ९: दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

गत फागुन १८ गते मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा अघि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

उक्त बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिने सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट, छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन ।

नेकपा सचिवालय बैठक समेत यसबीचमा एकपटकमात्र बसेको थियो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.