प्रधानमन्त्री ओलीद्वारा पवित्र पर्व ईदुल फित्रको अवसरमा शुभकामना व्यक्त

| 2020 May 25 | 07:38 am 1929

काठमाडाैं, जेठ १२ः प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा ‘स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना’ व्यक्त गरेका छन् ।

यस पर्वमा एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश रहेकाे बताउनुहुँदै यस्ता विशेषताहरु यहाँ मौलिक पुँजीको रुपमा रहेकाे धारणा व्यक्त गर्नुभएकाे छ । ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।’

साेही विशेषतालाई आत्मसात गर्दै सरकार ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेकाे पनि उनले स्मरण गराएका छन् ।

ठीक यसैबेला विश्वब्यापी संकटका रुपमा कोभिड–१९ भाइरसको महामारीकाे सामना गर्नुपरेकाे बताउँदै उनले भनेका छन्, ‘यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि म आह्वान गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.