प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरुको भेट, बजेट तयारीबारे छलफल

रिपोर्ट नेपाल | 2019 Apr 04 | 06:01 pm 2042

काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए ।

उनले भने, ‘कार्यक्रमहरु नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्छ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्छ ।’

बैठकमा सहभागी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आँधीहुरीपीडित बारा र पर्साका बासिन्दालाई राहत र पुनःस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।
राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिमरुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौँमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.