प्रधानमन्त्रीले हरेक शुक्रबार भेटघाट गर्ने

| 2023 Apr 15 | 08:09 am 461

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्येक हप्ताको शुक्रबार पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबारदेखि भेटघाट कार्यक्रम सुरु गरिसकेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा भेटघाट कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार हुने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । सो भेटघाट कार्यक्रममा नेता, कार्यकर्ताका साथै सर्वसधारणका गुनासो, माग, सेवा, सुविधासहित सम्पूर्ण विषयमा सुझाव लिने काम हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकैजस्तै लागे पनि सहज नरहेको बताए । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको छलफलमा कार्यकर्तासँग उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए ।

‘अहिले हामी सरकारमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होलाजस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने । बुद्धि नपु¥याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताए ।

संविधानसभाबाट भएको घोषणालाई आत्मसात् गरे पनि त्यसलाई विभिन्न तर्क, विर्तक गरेर असफल पार्ने र उल्ट्याउने काम हुन थालेको प्रचण्डको भनाइ छ । उनले थपे, ‘सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ ।’

उनले आगामी दिनमा माओवादी केन्द्रले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।

यसैबीच, नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रनिर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरू हुन नसक्ने बताएका छन् । नयाँ वर्षमा प्रधानमन्त्रीका रूपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्ष हामी आफैंमाथि भरोसा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्रनिर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरू हुनै सक्दैन,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले आफ्ना केही ठोस संकल्प रहेको बताउँदै निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको दाबी गरेका छन् ।

‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महŒवपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर कम हुँदै गएको पनि दाबी गरेका छन् । ‘व्यवसायीको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजस्व संकलनमा वृद्धि भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेको प्रधानमन्त्रीले दाबी गरेका छन् । ‘एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ’ प्रधानमन्त्रीको भनाइ छ ।

सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन अपिल गरेका छन् ।

‘नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं’ प्रधानमन्त्रीले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’  राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.