काठमाडौं, पुस १० : सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनै परेपनि कुनै समस्या नरहेको बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका बाँस्कोटाले अहिले सरकार छाडेको दल सरकारमा आउनुअगावै प्रधानमन्त्री निर्वाचित भइसकेकाले संविधानको प्रावधान आकर्षित हुने नहुने कानुनका ज्ञाताहरुले व्याख्या गर्ने बताए । यदि संविधानको उक्त धारा आकर्षित भएपनि प्रधानमन्त्रीसँग बहुमत रहेको बताए ।
संविधानको धारा १०० मा सत्ता साझेदार दलले सरकार छाडेमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ ।
मंगलबार समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो भने उसले बुधबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । समाजवादी सरकारबाट बाहिरिएपछि ओली नेतृत्वको सरकारले दुई तिहाई गुमाएको छ ।